बीरगन्ज, २२ मंसिर-बीरगन्ज महानगरपालिकाले निजी तथा आवासीय विद्यालयहरुलाई वर्गीकरण गरेको छ । विगत लामो समयदेखि निजी स्कुललाई वर्गीकरण गर्नुपर्...
बीरगन्ज, २२ मंसिर-बीरगन्ज महानगरपालिकाले निजी तथा आवासीय विद्यालयहरुलाई वर्गीकरण गरेको छ । विगत लामो समयदेखि निजी स्कुललाई वर्गीकरण गर्नुपर्ने माग उठ्दै आएकोमा लामो प्रयास र गृहकार्यपछि स्कुलहरुलाई वर्गीकरण गरिएको बीरगन्ज महानगरपालिका शिक्षा महाशाखाका प्रमुख अर्विन्दलाल कर्णले बताए । स्कुलको भौतिक संरचना, विद्यार्थी संख्या, शिक्षक संख्या, खेलमैदान, बगैचा, शैक्षिक गुणस्तर लगायतलाई आधार बनाएर बीरगन्ज महानगरपालिकाले संस्थागत स्कुलहरुलाई वर्गीकरण गरेको बीरगन्ज महानगरपालिका शिक्षा महाशाखाले जनाएको छ ।
विगत लामो समयदेखि स्कुलहरुले अभिभावकको ढाड सेक्ने गरी शुल्क लिएको भन्दै विवाद हुदंै आएकोमा विद्यालयहरुलाई अब महानगरले तोके बमोजिमको शुल्क लिने बाटो खुलेको छ । महानगरले विद्यालयहरुलाई क, ख, ग र घ श्रेणीमा स्तरीकरण गरेको छ । श्रेणी अनुसारको शुल्क लिन पाउने ढोका पनि महानगरले खोलिदिएको छ ।
निर्धारण गरिएको शुल्क अनुसार क वर्गमा पर्ने केही विद्यालयहरुको शुल्क घट्ने देखिएपनि महानगरको यो निर्णय कार्यन्वयन भएमा अधिकांश निजी विद्यालयहरुको शुल्क बढ्ने निश्चित छ । तर शुल्क घट्ने विद्यालयहरु मात्र रहेको र अधिकांश अन्य विद्यालयहरुले शुल्क समायोजन गरेमा गत जेठदेखिकै बढेको शुल्क अभिभावकहरुले तिर्नुपर्ने देखिन्छ । शुल्क घटेकोमा केही विद्यालयहरुका अभिभावक खुशी देखिए पनि अधिकांश विद्यालयका अभिभावकहरु आक्रोशित छन् ।
उनीहरुले यो सबै तथाकथिक अभिभावक संघर्ष समितिको अनावश्यक बखेडाको नतिजा भएको प्रतिक्रिया दिएका छन् । अनावश्यक रुपमा विवाद उत्पन्न गराई विद्यालयमा गएर झैझगडा गर्ने र महानगरपालिका बारम्बार विद्यालय वर्गीकरण तथा शुल्क निर्धारणका लागि दबाब दिएकै कारण आफुहरु अब महँगो शुल्क तिनुपर्ने अवस्थामा पुगेको एक अभिभावकले बताए ।
मासिक शुल्क बाहेकका अन्य शुल्क लिनु परेमा विद्यालयको अभिभावक समितिबाट निर्णय गराउनु पर्ने बीरगन्ज महानगरपालिकाले भनेको छ । बीरगन्ज महानगरपालिकामा स्तरीकरण तथा शुल्क निर्धारण समितिको मंसिर १९ र २० गते बसेको बैठकले सबै संस्थागत बिद्यालयहरुलाई वर्गीकरण गरेको छ । बैठकले गरेको निर्णय अनुसार बीरगन्ज महानगरपालिकाले २१ गते बुधबार सबै संस्थागत बिद्यालयहरुलाई शुल्क निर्धारण तथा स्तरीकरण गरिएकोबारे परिपत्र गरेको छ ।
अब वर्गीकरण अनुसार स्कुलहरुले मासिक शुल्क बाहेक कुनै किसिमको शुल्क लिन नपाउने तथा लिनुपर्ने अभिभावक समितिबाट निर्णय गराउनु पर्ने हुन्छ । त्यसैगरी, समितिले दुरीको आधारमा यातायात भाडा निर्धारण गरी लिन भनेको छ । विद्यालयहरुलाई जेठ १ गतेदेखि शुल्क समायोजन गर्न बीरगन्ज महानगरपालिका शिक्षा महाशाखाले निर्देशन दिएको छ । त्यसैगरी, सुचीमा नपरेका सबै बिद्यालयहरुलाई घ श्रेणी राखिएको समेत बीरगन्ज महानगरपालिकाले जनाएको छ ।
संस्थागत विद्यालयहरुलाई वर्गीकरण गरिएसँगै अभिभावकहरुलाई राहत हुने बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले बताए । उनले अभिभावकहरुसँग विद्यालयले तोकिएको परिधि भित्र रही मात्र शुल्क लिन पाउने बताए । तोकेको शुल्क भन्दा बढी शुल्क अथवा अन्य थप शुल्कहरु लिएको पाइएमा त्यता विद्यालयहरुलाई बीरगन्ज महानगरपालिकाले कारवाही गर्ने मेयर सिंहले बताए । स्तरीकरण तथा शुल्क निर्धारणले अभिभावक तथा विद्यार्थीहरुलाई प्रत्यक्ष फाईदा हुने एवं आफुले शुल्क तिर्न सक्ने विद्यालयको छनौट गरी भर्ना हुन पाउने मेयर सिंहले बताए । बीरगन्ज महानगरपालिकाले सामुदायिक विद्यालयहरुलाई समेत स्तरीय बनाउने अभियान शुरु गरेको तथा त्यस दिशामा समेत काम भइरहेको मेयर सिंहले बताए ।
बीरगन्ज महानगरपालिकाले गरेको निर्णयको संस्थागत विद्यालयहरुको संगठन प्याब्सन बीरगन्जका अध्यक्ष आलोक चौरसियाले स्वागत योग्य भएको प्रतिक्रिया दिएका छन् । उनले बीरगन्ज महानगरपालिकाले संस्थागत बिद्यालयहरुलाई स्तरीकरण तथा शुल्क निर्धारण गरी राम्रो कामको सुरुवात गरेको बताए । यो निर्णयलाई कार्यन्वयन गर्ने दिशामा प्याब्सन पर्सा अगाडि बढेको अध्यक्ष चौरसियाले बताए ।
तर लामो समयदेखि आन्दोलन गर्दै आएको अभिभावक संघर्ष समितिले भने बीरगन्ज महानगरपालिकाको यो निर्णयको विरोध गरेको छ । वर्गीकरण तथा शुल्क निर्धारण समितिमा आफुहरुलाई सहभागी नगराएर निर्णय निष्पक्ष हुन नसकेको अभिभावक संघर्ष समितिका अध्यक्ष सन्दीप साहले बताए ।
The post बीरगन्ज महानगरले गर् यो निजी स्कूलको वर्गीकरण तथा शुल्क निर्धारण appeared first on Nepal Post Daily.
credit: Nepalpostdaily
COMMENTS